बुद्धको तालु भेटिएपछि चिनिया भिक्षुद्वारा उत्सव

असार ४- चीनको नानचिङस्थित बौद्ध गुम्बाबाट शाक्यमुनी बुद्धको तालुको हड्डी उत्खनन् गरिएको छ। सुनको कफिनमा राखिएको अवस्थामा भेटिएको चट्टानको टुक्रा जस्तो वस्तु बुद्धको तालुको हड्डी भएको चिनियाँ पुरातत्वविद् तथा बौद्ध भिक्षुहरूले पुष्टि गरेका छन्। पूर्वी चीनको च्याङ्सु प्रान्तको राजधानी नानचिङस्थित छिस्या गुम्बामा गत शनिबार बिहान बौद्ध परम्पराअनुसार धूमधाम पूजा आयोजना गरी हड्डी उत्खन्न गरिएको समारोहमा सहभागी चिनियाँ बुद्धिष्ट एसोसिएसनका अध्यक्ष मास्टर छुवान यिनले दिएका छन्। चट्टानको टुक्राजस्तो देखिने खैरो रङको हड्डी सम्राट् अशोकको प्यागोडामा राखिएको अवस्थामा भेटिएको थियो। नानचिङ नगर सङ्ग्रहालयका उपप्रमुख हुवा रुङलाई उद्धृत गर्दै चाइना डेलीले लेखेको छ- मसिना कोष जस्ता छिद्र भएकाले हड्डी मौरीको चाकाजस्तो देखिन्छ।

// <![CDATA[// // <![CDATA[//

बुद्धिष्ट एसोसिएसनका उपाध्यक्ष सुए छङ्गले उत्खननको नतिजा बुद्धको तालुको हड्डीसम्बन्धी ऐतिहासिक रेकर्डअनुसार प्रमाणित भएको दावी गरेका छन्। “बुद्ध धर्मावलम्बीका लागि यो हड्डी सबभन्दा पवित्र वस्तु हो”- छङ्गले उत्साहित हुँदै भने।

उत्खननका क्रममा शाक्यमुनीबाहेक अन्य बुद्धका दश वटा अस्तु पनि फेला पारिएको छ। बुद्धको तालुको हड्डीसहित उत्खनन् गरिएका सबै अस्तु एक महिनाका लागि गुम्बामा प्रदर्शनमा राखिएको छ। प्रदर्शनपछि पनि यसलाई मुख्य भूमि चीन, ताइवान र मकाउका प्रसिद्ध भिक्षुहरु रहेको छिस्या गुम्बामै सुरक्षित राखिने बताइएको छ।

एसोसिएसनका उच्च अधिकारी लु जिनफुका अनुसार करिब २५ सय वर्षअघि मृत्युपछि शाक्यमुनीको तालुको एउटा र काँधका दुइटा हड्डी, चार वटा दाँत र ८४ हजार अस्तुधातु सङ्कलन गरिएको थियो भने बाँकी अवशेष प्यागोडा जस्तो समाधिमा राखेर विश्वका विभिन्न भागमा पठाइएको थियो। नानचिङमा उत्खनन् गरिएको १.२१ मिटर अग्लो र ४२ सेन्टिमिटर फराकिलो प्यागोडा चीनमा भेटिएको अहिलेसम्मकै ठूलो मानिन्छ। चीनमा शाक्यमुनीको अस्तु रहेका १९ वटा प्यागोडा भएको विश्वास छ, जसमध्ये सात वटा पत्ता लागिसकेका छन्।

Leave a comment

Filed under विविध घट्नाक्रम

Leave a comment